सामान किनेको बिल माग्दा लाखौँ जित्ने मौका : यसरी बनौँ सहभागी

काठमाण्डौ : सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ कार्यान्वयनमा ल्याउँदै उपभोक्ताको बिल लिने बानी विकास गर्न एक लाखदेखि १० लाख रुपैयाँसम्मको चिट्ठा (लट्री) कार्यक्रम ल्याएको छ । जसअनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले एक लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको उपहार पाउनेछन् ।

व्यावसायिक प्रयोजनले खरिद गरिएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत, गाडी तथा ढुवानी सेवा तथा हवाई टिकटका बिल, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल तथा प्यान नम्बर नभएका विक्रेताबाट लिइएका बिल भने कार्यक्रममा सहभागी हुन पाइँदैन । १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लट्रीमार्फत उपहार पाउने सरकारी योजना हो ।

एउटै बिजक (बिल) वा विद्युतीय भुक्तानीबाट गरिएको खरिद एक पटकभन्दा बढी लट्री कार्यक्रममा समावेश हुन नपाउने व्यवस्था गरिएको छ । आन्तरिक राजश्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै https://prize.ird.gov.np/  अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन् । वेबसाइटमा विवरण प्रविष्ट गरेपछि ‘उपहार कुपन’ स्वतः उत्पन्न हुनेछ । कुपनमा रहेको नम्बर लक्की ड्रमा समावेश हुनेछ । विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेस गरी पुरस्कार दाबी गर्न सकिने व्यवस्था गरिएको छ । नगद र विद्युतीय भुक्तानीका लागि फरक व्यवस्था गरिएको छ । नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ । तर, क्युआर कोड वा कार्डमार्फत गरिएको विद्युतीय भुक्तानी स्वतः प्रणालीमा समावेश हुने भएकाले छुट्टै विवरण भर्नुपर्ने छैन ।

सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैङ्कले इसेवा, खल्तीलगायत अनुमतिप्राप्त डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन दिइसकेको छ । आन्तरिक राजश्व विभागले स्पष्ट, वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ ।

जाली, सच्याइएको, दोहोरिएको, झुटा वा अनधिकृत बिल पेस गरेमा प्रविष्टि अस्वीकृत हुने, पुरस्कार कुपन रद्द गरिने, वितरण भइसकेको पुरस्कार फिर्ता असुल गरिने तथा प्रचलित कानुनबमोजिम कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ । डिजिटल भुक्तानीबाट प्राप्त हुने पुरस्कार कुपन कोड सम्बन्धित बैंक वा डिजिटल वालेट एपको कारोबार विवरण, सूचना, कुपन वा रिवार्ड सेक्सनमा हेर्न सकिने विभागले जनाएको छ । यसका लागि साउन २१ भित्र सबै भुक्तानी सेवा प्रदायकले आफ्नो एपमार्फत आवश्यक सूचना तथा नोटिफिकेसन उपलब्ध गराउनेछन् । क्यूआरबाट पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र त्यही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि विभागको प्रणालीमा प्रविष्ट भइसकेकाले त्यो नम्बर नै उपहारका लागि योग्य हुनेछ ।

उपहार घोषणापछि सक्कल बिल अनिवार्य हुने भएकाले बिलहरू भने सुरक्षित राख्न विभागले सबै उपभोक्ताको ध्यानाकर्षण गराएको छ । विभागले आफूले गरेको खरिदको सक्कल भ्याट तथा प्यान बिल माग्न र बिल नपाएको खण्डमा विभागमा जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ । विभागले साउन १ गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आउँदो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...