भूमिगत राजनीति, जेलदेखि मुख्यमन्त्रीसम्म : खगराज भट्टको संघर्षपूर्ण यात्रा

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक यात्रा लामो, संघर्षपूर्ण र उतारचढावपूर्ण छ। किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका भट्ट विद्यार्थी आन्दोलन, भूमिगत राजनीति, जेल जीवन, संगठन निर्माण, जनयुद्ध, शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा स्थापित भएका हुन्।

वि.सं. २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा पिता स्वर्गीय रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिँला छोराका रूपमा जन्मिएका भट्टले आईएल तहसम्मको शिक्षा हासिल गरेका छन्।

उनले वि.सं. २०४७ मा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता लिएर औपचारिक रूपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका थिए। वि.सं. २०५० असोजदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय भएका उनी सोही वर्ष कात्तिकमा नेकपा जिल्ला कमिटी सदस्य बने।

राजनीतिक जीवनको प्रारम्भिक चरणमै विद्यार्थी आन्दोलनमा सक्रिय भट्टले अखिल क्रान्तिकारीको संगठन विस्तार तथा सुदूरपश्चिममा विद्यार्थी राजनीति बलियो बनाउन भूमिका खेले। डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लामा संगठन निर्माण, राजनीतिक परिचालन र कार्यकर्ता व्यवस्थापन गर्दै उनी जिल्ला तहबाट क्षेत्रीय हुँदै केन्द्रीय जिम्मेवारीमा पुगे।

भूमिगत राजनीति र जेल जीवन

माओवादी आन्दोलनका क्रममा राज्यको दमन तीव्र बनेपछि भट्ट पक्राउ परेका थिए। वि.सं. २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट पक्राउ परेका उनी राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दामा २०५३ पुस ८ गतेसम्म जेलमा रहे।

जेलमुक्त भएपछि पुनः राजनीतिक गतिविधिमा फर्किएका भट्टले सुदूरपश्चिममा संगठन विस्तार, राजनीतिक सम्पर्क र पार्टीको आधार निर्माणमा सक्रिय भूमिका निर्वाह गरे।

जनयुद्धकालमा उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण तथा विस्तारको जिम्मेवारी सम्हाले। कठिन परिस्थितिमा संगठन विस्तार र कार्यकर्ता परिचालन गर्दै क्षेत्रीय नेतृत्वमा स्थापित भएका उनी वि.सं. २०६० मा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिमा प्रवेश गरे।

परिवारका सदस्य पनि राजनीतिक आन्दोलनमा

भट्टको राजनीतिक यात्रा उनको व्यक्तिगत संघर्षमा मात्र सीमित रहेन। उनका परिवारका सदस्यसमेत राजनीतिक आन्दोलनमा सक्रिय थिए। उनका दाजु जयराज भट्ट जनयुद्धकालमा शहीद भएका थिए भने भाइ उमेश भट्ट भूमिगत राजनीतिमा सक्रिय रहे।

भाउजू नन्दा देवी भट्ट, श्रीमती मञ्जु बम तथा भाइबुहारी धर्मा बोहरासमेत पूर्णकालीन राजनीतिक गतिविधिमा संलग्न रहेको उल्लेख छ।

शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा

नेपालको शान्ति प्रक्रियापछि भट्ट भूमिगत राजनीतिबाट खुला राजनीतिक तथा संसदीय अभ्यासमा प्रवेश गरे। संविधानसभा तथा त्यसपछिका निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरे।

संघीय गणतान्त्रिक संरचना स्थापना भएपछि उनको राजनीतिक सक्रियता सुदूरपश्चिममा थप केन्द्रित भयो। उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज तथा पछि नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहे।

प्रदेश संरचना निर्माणको प्रारम्भिक चरणदेखि नै उनले प्रदेशको संस्थागत विकास, पार्टी संगठन विस्तार तथा सुदूरपश्चिमका विकासका मुद्दामा भूमिका निर्वाह गर्दै आएका छन्।

प्रदेशसभादेखि मुख्यमन्त्रीसम्म

वि.सं. २०७९ को निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भए। प्रदेशसभामा प्रवेश गरेपछि उनी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतासमेत बने।

पछिल्लो राजनीतिक पुनर्संरचनापछि माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभामा २२ सदस्यसहित सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। उक्त संसदीय दलको नेतृत्वसमेत भट्टले गरिरहेका छन्।

किशोरावस्थादेखि सुरु भएको राजनीतिक यात्रा भूमिगत जीवन, जेल, संगठन निर्माण, जनयुद्ध, शान्ति प्रक्रिया र संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै प्रदेश सरकारको नेतृत्वसम्म पुगेको छ।

दशकौँ लामो राजनीतिक संघर्षपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका भट्टसामु अब प्रदेशको विकास, राजनीतिक स्थायित्व र जनअपेक्षा सम्बोधन गर्ने चुनौती छ। उनको मुख्यमन्त्री यात्रा भने लामो राजनीतिक संघर्षको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Deep Jyoti Pustak psl
Loading...