धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाद्वारा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको शनिवारीय महिला उद्यम बजार मेला यस वर्ष पनि पुनः सञ्चालन हुने भएको छ ।
उपमहानगरपालिकाका अनुसार महिला उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको उक्त बजार यहि असोज २४ गतेदेखि पुनः सञ्चालन गरिनेछ ।
उद्यम बजार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ देखि धनगढी कभर्डहलनजिक जेन्जी मार्गमा सञ्चालन हुँदै आएको छ । सम्बन्धित सम्पूर्ण महिला उद्यमी तथा सरोकारवालालाई बजारमा सहभागी हुन उपमहानगरपालिकाले जानकारी गराएको छ ।
धनगढी उपमहानगरपालिकाले महिला स्वरोजगार अभियानअन्तर्गत प्रत्येक शनिबार महिला उद्यम मेला आयोजना गर्दै आएको छ ।
निःशुल्क रूपमा सञ्चालन हुने उक्त मेलाको सम्पूर्ण व्यवस्थापन धनगढी उपमहानगरपालिकाले गर्दै आएको छ भने सहभागी महिला उद्यमीलाई निःशुल्क स्टलसमेत उपलब्ध गराइनेछ । मेलामा धनगढी उपमहानगरपालिकाभित्रका महिला उद्यमीहरूले आफूले उत्पादन गरेका विभिन्न प्रकारका सामग्री तथा परिकार बिक्रीका लागि राख्न सक्नेछन् ।
महिलाहरूले आफ्नो सीप र क्षमताअनुसार उत्पादन गरेका हस्तकलाका सामग्री, खाद्य परिकारलगायत अन्य वस्तुहरू महिला उद्यम मेलामार्फत बिक्री तथा प्रवद्र्धन गर्न सक्नेछन् । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले महिला उद्यमीहरूले आफ्ना उत्पादनलाई बजारसम्म पु¥याउन मेलाले महत्वपूर्ण अवसर प्रदान गर्ने बताएका छन् ।