कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १४औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आयोजनामा कृष्ण माध्यामिक विद्यालयको प्राङगणमा मंगलबारबाट प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगीताको एक कार्यक्रमका बिच परराष्ट्रमन्त्री एनपि साउँदले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै उनले खेलकुदको अर्थ अनुशासन भएकाले उच्च अनुशासित हुनुपर्ने बताए ।
उनले शिक्षालाई प्राविधिक र व्यवसायीक बनाउन आवश्यक रहेको बताए । ‘शिक्षालाई व्यवसायीक बनाउनका लागि प्राविधिक र गुणस्तरिय बनाउन आवश्यक छ’ उनले भने ‘आफै रोजगारी सृजना गर्ने वातावरण सृजना हुने गरी सीपयुक्त शिक्षा दिनु आजको आवश्यकता हो ।’
कृष्णपुर नगरका मेयर हेमराज ओझाले राष्ट्रिय कार्यतालिका अनुरुप नगरपालिकाले प्रतियोगिता शुरु गरेको बताए । उनले विद्यार्थीहरुको खेलकुद प्रतिको रुची जागरुक बनाउन पनि यस्ता प्रतियोगीताहरु आवश्यक रहेको बताए । उनले उक्त प्रतियोगीतामा १३ सामुदायीक र १२ संस्थागत गरि २५ विद्यालयको सहभागिता रहेको बताए ।
नगरप्रमुख ओझाका अनुसार अन्तर विद्यालयपछि पालिका स्तर र त्यसपछि जिल्ला स्तरको प्रतियोगिता समेत कृष्णपुर नगरपालिकामा नै आयोजना हुनेछन । मंगलबार प्रतियोगीताको उद्घाटन पश्चात १ हजार ५ सय मिटरका दौड प्रतियोगिताहरु सम्पन्न भएका छन ।आज बुधबार पनि विभिन्न खेलकुद प्रतियोगिता भइरहेका छन ।
