दार्चुला : दार्चुलामा भारतसँग जोडिएको सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
लेकम गाउँपालिका–३ लालीस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको उपस्थितिमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा राखिएको हो ।
जिल्लाको व्याँस गाउँपालिका–४ मलघट्टे, महाकाली नगरपालिका–४ पुलघाट, महाकाली–९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी र लेकम गाउँपालिका–३ लालीमा झोलुङ्गे पुल सुरक्षार्थ सशस्त्र प्रहरी खटिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका अनुसार सशस्त्र प्रहरी तैनाथ सीमा पुलहरुमा नेपाली झण्डा राखिनेछ ।
भारतपट्टि एसएसबीले आफ्नो देशको झण्डा राखेकोले नेपालपट्टि पनि झण्डा राख्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्तले बताए ।
