सुदूरपश्चिममा दशैँमा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

धनगढी : सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ ।

घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीकाअनुसार सबैभन्दा धेरै कैलालीमा ८८ सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक सय ४६ जना घाइते भएका छन् । कञ्चनपुरमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुँदा ५० जना घाइते भएका छन् । यी दुई बाहेक अन्य जिल्लामा सवारी दुर्घटनामा मानिसको मृत्यु भने भएको छैन् ।

डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा २/२ तथा बझाङ र बैतडीमा १/१ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ४७ जना घाइते भएका छन् ।

यो दशैँमा भएका सवारी दुर्घटनाको संख्याले अघिल्लो वर्षको रेकर्ड भने ब्रेक गरेको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म दुर्घटना भएका भन्दा यो दशैँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीकाअनुसार गत वर्ष दशैँदेखि छठ पर्वसम्म प्रदेशभर एक सय २२ सवारीसाधन मात्र दुर्घटनामा परेका थिए । ती दुर्घटनामा २३ जनाको मृत्यु हुँदा दुई सय ५३ घाइते भएका थिए । तर, यो वर्ष भने दशैँमै एक सय ५२ दुर्घटनामा छ जनाको मृत्यु र दुई सय ४३ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीको यो तथ्यांकले चाडपर्वका बेला हुने सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरण गर्ने कुरा चुनौतीपूर्ण बन्दै जान थालेको छ। तर, दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घट्ने कुरालाई सकारात्मक पक्षका रूपमा लिइएको छ ।

Loading...