दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् ।
विद्यार्थीहरु यार्सागुम्बा खोज्न गएपछि पालिकाका धेरैजसो विद्यालयमा आजदेखि पठनपाठन बन्द गएिको हो ।
शिक्षा शाखा अधिकृत वीरेन्द्रसिंह साउदले अपिहिमालका विद्यार्थी, शिक्षक र अभिभावक यो बेला यार्सागुम्बा टिप्न लेकतिर जाने र विद्यालय बिदा नगरे पनि विद्यार्थी पढ्न नआउने भएकाले बर्खे बिदामा मिलान हुने गरी आजदेखि विद्यालय बन्द गरिएका बताए ।
गाउँपालिकामा २४ वटा सामुदायिक विद्यालय छन् । सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले वर्षे बिदाबाट बिदा मिलान गर्ने निर्णय गरेपछि जेठ १५ गतेसम्म पालिकाभरीका विद्यालयमा बिदा गरिएको छ । जिल्लाको अपिहिमाल, मार्मा, नौगाड, व्यास र दुहुँलगायत क्षेत्रका बासिन्दा यार्सा खोज्न अपिहिमालको हिमाली पाटन पुगेका छन् ।
अपिहिमालको लोलु, रिङ्देपानी, रौन्याड, सतगङ्गा कालीढुङ्गा, पाटनमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाबाट सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने गरेको छ ।
