डडेल्धुरामा घाइते फेला परेका सब-ओभरसियर भट्टको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा घाइते अवस्थामा फेला परेका एक सब-ओभरसियरको धनगढीमा मृत्यु भएको छ । घाँटी रेटिएको अवस्थामा जंगलमा घाइते फेला परेका सब-ओभरसियर डम्बरदेव भट्टको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

शनिवार बिहान डडेल्धुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा घाइते फेला परेका थिए ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार उनी घर नजिकैको जंगलमा फेला परेका थिए ।

घाइते फेला परेका भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको थियो । डडेल्धुरा अस्पतालले थप उपचारका लागि अन्यत्र पठाएकोमा शनिवार दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्ट शुक्रवार साँझबाट परिवारका सदस्यसँग सम्पर्कमा थिएनन् । रातिसम्म घर नआएपछि उनका आफन्तले खोजी गरेपनि फेला परेका थिएनन् । उनि निर्माण व्यवयायी पनि हुन् ।

Loading...