‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको आदेश

काठमाण्डौ : जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेको अभियोगमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति हुनेगरी सजाय फैसला गरेको छ ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हिजो बम्जनलाई १० वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

गएको सोमबार ‘तपस्वी’ बम्जनले बालिकामाथि यौनजन्य कसुर गरेको ठहर भएको थियो । पीडित बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिका पत्थरकोटमा आश्रममा रहेका बेला बाराको निजगढ नगरपालिका-१२ का ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो ।

यो मुद्दामा बम्जनलाई काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका-६ मा रहेको निवासबाट गएको पुस २४ गते सिआइबीको टोलीले पक्राउ गरेको थियो । पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन् ।

बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको विभिन्न आरोप पनि छन् । उनीविरुद्ध पाँच जना परिवारले उजुरी दिएका छन्।

Deep Jyoti Pustak psl
Loading...