काठमाडौँ : दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक घुससहित रंगेहात पक्राउ परेका छन् । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार नगदसहित पक्राउ गरेको हो ।
धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले सोमबार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनले पक्राउ परेकाहरूको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद गरेको जानकारी दिए । धामीद्वयको साथबाट पैँतालीस लाख साठी हजारको ५ थान चेक चेक बरामद भएको छ ।
यस्तै अशोक सिंह धामीको नाममा काटिएको पाँच लाख (२ लाख ५० हजारको दुई वटा) को चेकसमेत गरी कुल ५० लाख ६० हजारको चेक बरामद भएको उनको भनाइ छ । अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
