धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
एकीकृत समाजवादीबाट मुख्यमन्त्री दीर्घबहादुर साेडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानकाे धारा १६८ काे (२) उपधारा बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकाे जानकारी दिए ।
उनकाअनुसार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न समय दिएका छन् ।
राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा साेडारी नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे थियो ।
समर्थन फिर्ता लिएकाे ३० औँ दिनमा शुक्रबार मुख्यमन्त्री साेडारीले प्रदेश सभा बैठकलाई सम्बाेधन गर्दै राजीनामा घाेषणा गरेका थिए ।
लगत्तै साेडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाएका थिए।
कांग्रेस र एमालेबीच भएकाे भागबण्डाअनुसार सुदूरपश्चिम सरकारकाे नेतृत्व कांग्रेसले गर्ने भएकाे छ ।
कांग्रेसमा मुख्यमन्त्रीका लागि पूर्व मुख्यमन्त्री समेत रहेका कमलबहादुर शाह, प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले दाबी गरिरहेका छन् ।
मुख्यमन्त्रीका चारै जना आकांक्षीसँग छुट्टछुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन् । देउवाले दिने निर्देशनअनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ ।
