अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आज (सोमबार) अत्तरिया बजार अनुगमन गरेको छ । नगरपालिकाले पूर्ण रुपमा प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउन आजदेखी बजार अनुगमन शुरु गरेको हो ।
नगर उपप्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत, बिभिन्न वडाका वडाअध्यक्ष, बिभिन्न शाखाका कर्मचारी, नगर प्रहरी तथा नेपाल प्रहरी लगायतको टोलीले गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरिया स्थित धनगढी लाईन र वडा नम्बर २ पहाडलाईनमा रहेका पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा नगरपालिकाले प्रतिबन्ध लगाएको प्लाष्टिकजन्य बस्तुहरु नराख्न सबैलाई आग्रह गर्दै आगामि दिनमा भेटिए जरिवाना सहित कार्वाहि गर्ने बताईएको छ । नगरपालिकाले यसभन्दा अगाडी पटक पटक प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध सम्बन्धी सूचना जारी गरी जानकारी गराएको थियो । नगरपालिकाले ४० माइक्रोन भन्दा कमका झोलाहरु, डिस्पोजेबल वस्तुहरु जस्तै थाली, कप, थाल, गिलास, कचौरा, चम्चा, आदि, रेस्टुरेन्ट, होटलहरूमा खानाको प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरु लगाएतमा प्रतिबन्ध लगाईएको छ ।
बजार अनुगमनकै क्रममा गोदावरी नगरपालिकाका उप प्रमुख एवम् अनुगमन समिति संयोजक शारदा देवी रोकायाले बजारमा प्लाष्टिक युक्त वस्तु निषेधित गर्ने, फर्म दर्ता, नविकरण भए नभएको अनुगमन गरिएको बताईन् । उनले सोमाबार गरिएको अनुगमन हाल सुझाब मात्र दिएको र अब उपरान्त प्लाष्टिक जन्य वस्तुको प्रयोग गरिएको पाइएमा जरिवाना सहित कारबाही गरिने बताईन् ।
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्टले प्लाष्टिकजन्य पदार्थ निषेधित र बिकल्प सहित सबैले प्रयोगमा ल्याउन सुझाव सहित ब्यावसाय दर्ता प्रक्रिया अगाढी बढाउन सबैलाई ध्यानाकर्षण गरेको बताए ।
यस अघि पनि नगरपालिकाले ३० दिने सुचना जारी गरेर प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउन खोजेको थियो तर उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयनमा आएको छैन । नगरपालिकाले सोही अनुसार ठाउँ ठाउँमा नगरबासीलाई सचेतना गराउन होर्डिङ बोर्ड पनि राखेको छ । भदौ १२ गतेदेखी प्लास्टिकजन्य पर्दाथ बिक्रि तथा प्रयोगमा नगरपालिकाले रोक लगाएको छ ।