गोदावरी नगरपालिकाले प्लाष्टिकजन्य वस्तुको विक्रिवितरण रोक्न बजार अनुगमनमा दियो निरन्तरता

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । सोमबारदेखी प्लाष्टिकजन्य वस्तुहरुको विक्रिवितरणमा रोक लगाउने भन्दै नगरपालिकाले सुरु गरेको बजार अनुगमन हिजो (मंगलबार) जारी राखेको थियो भने आज (बुधबार) पनि जारी रहने बताईएको छ ।

नगरपालिकालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउनका लागि कार्यविधि सहित अघि बढेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले प्लाष्टिकजन्य वस्तुहरुको विक्रिवितरणमा रोक लगाउन सोमबारदेखी निरन्तर रुपमा नगरपालिकाले बजारमा अनुगमन गरेको बताईन् । उनले प्लाष्टिकजन्य वस्तु संगसंगै वडामा पसल दर्ता भए नभएको पनि अनुगमन गरिरहेको बताएकी छन् । नगर उपप्रमुख रोकायाले सोमबार देखी सुरु गरिएको बजार अनुगमन बुधबारसम्म व्यापारीहरुलाई सम्झाई बुझाई गरिने र बिहीबार देखी बजारमा नगरपालिकाले प्रतिबन्ध लगाएको प्लाष्टिकजन्य वस्तुहरु भेटेमा जफत गरिने र जरिवाना समेत गरिने बताईन् ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले प्लाष्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी विधेयक २०८० बनाएको र सो विद्येयक अनुसार नै प्लाष्टिक जन्य वस्तुहरुको विक्रिवितरण रोक्ने भन्दै अनुगमन थालिएको जानकारी दिए । उनले सूचना जारी गरिएको भएपनि बजार अनुगमन गरेर सचेतना मुलक व्यापारीहरुलाई अहिले सम्झाई बुझाई राखेको बताए । आगामि दिनमा पनि निरन्तर रुपमा बजार अनुगमन गर्नुका साथै प्लाष्टिकजन्य वस्तु प्रतिबन्धमा थप कडाई गरिने उनले बताए। बजारमा अनुगनका क्रममा आगामी दिनमा प्लाष्टिकजन्य वस्तु भेटिएमा जरिवाना समेत गरिने प्रशासकिय अधिकृत भट्टले बताएका छन् ।

नगर उपप्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत, बिभिन्न वडाका वडाअध्यक्ष, बिभिन्न शाखाका कर्मचारी, नगर प्रहरी तथा नेपाल प्रहरी लगायतको टोलीले सोमबार देखी अत्तरिया बजारमा अनुगमन गरिरहेको छ ।

नगरपालिकाले यसभन्दा अगाडी पटक-पटक सुचना जारी गरेर प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउन खोजेको थियो तर उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयनमा आएको छैन ।

४० माइक्रोन भन्दा कमका झोलाहरु, डिस्पोजेबल वस्तुहरु जस्तै कप, थाल, गिलास, कचौरा, चम्चा, आदि, रेष्टुरेन्ट, होटलहरूमा खानाको प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरु लगाएतमा प्रतिबन्ध लगाईएको छ । उक्त वस्तुहरुको प्रयोग भएको पाईएमा कारबाही र जरिवाना दुवै गरिने नगरपालिकाले जनाएको छ ।

Loading...