अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार अनुगमनमा थप कडाई गरेको छ ।
नगरपालिकाले बुधवार अनुगमनमा निरन्तरता दिएसँगै अत्तरिया बजार क्षेत्रका विभिन्न पसलहरुबाट प्रतिबन्धित प्लास्टिकका झोलाहरुको जफत गरेको छ । अनुगमनका क्रममा ८२.३९५ किलो प्लाष्टिक झोला जफत गरेको छ । अत्तरिया बसपार्क, पहाड लाईन, लोटस गल्ली र सब्जीमण्डी लगायतका २४ पसलबाट प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाले जनाएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रहरीहरु, मालाखेती ईप्रकाका प्रहरीहरु र नगरपालिका प्रतिनिधिको सहयोगमा अत्तरिया बजारका ठेला ब्यावसायी, तरकारी पसल, किराना पसल लगायत पसलबाट प्लाष्टिकजन्य सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोदावरी नगरपालिकाले नगरपालिका भित्र प्लाष्टिकजन्य बस्तु पूर्ण प्रतिवन्धका लागि विभिन्न संचार माध्यमबाट प्रचार प्रसार , सुचना, बजारमा माईकिङ पश्चात बजार अनुगमन सुरु गरेको थियो भने बुधवारदेखि अत्तरिया बजार क्षेत्रबाट पाष्टिक जन्य बस्तु फेला परे जफत गर्न लागेको हो ।
प्लाष्टिक झोलाहरु निषेधित गर्न निरन्तर अनुगमन गरिएको र बुधवार गरिएको अनुगमन अत्तरिया बजारका विभिन्न पसलहरुबाट प्लास्टिक झोला जफत मात्रै गरिएको साथै आगामी दिनमा फेरि फेला परे जरिवाना समेत तिराउने समेत नगरपालिकाले जनाएको छ ।
अत्तरिया बजारमा नगरपालिकाद्वारा प्लाष्टिक जन्य पदार्थ प्रतिबन्ध सँगै अव्यवस्थित रुपमा संचालित ब्यावसाय दर्ताका लागि निरन्तर अनुगमन गर्ने गरेको छ ।
