अत्तरिया बजार अनुगमन : दुई दिनमा ७८ हजार बढीका अखाद्य वस्तूहरु बरामद
कारबाही नहुदा व्यापारीले गर्नथाले अटेरी
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले शुक्रबार देखि अत्तरिया बजारमा अनुगमन सुरु गरेको छ । नेपालीहरुको महान पर्व दशैँतिहारलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा ठुलो मात्रामा अखाद्य तथा म्याद नाघेका वस्तुहरु फेला परेका छन् । नगरपालिकाले दुई दिनसम्म गरेको अनुगमनमा ७८ हजार ५०० बराबरका अखाद्य वस्तूहरु बरामद गरेको हो ।
बरामद गरेका सामग्रीहरु वडा नम्बर १ को कार्यालय नजिकैको क्षेत्रमा नष्ट गरिएको छ । बजार अनुगमन चाँडपर्वमा मात्रै नभएर अन्य समयमा पनि हुनुपर्ने स्थानियको भनाई छ । नगरपालिकाले अनुगमनलाई निरन्तरता दिन नसक्दा स्थानीयहरुले अखाद्य वस्तुहरुकै प्रयोग गरिरहेका छन्। किराना पसलहरुमा म्याद नाघेका वस्तुहरु, होटलहरुमा रंग मिसिएका र लामो समयसम्म फ्रिजमा राखिएका खानेकुराहरु लगायतले दिनहुँ नागरिकको स्वास्थ्यमा नराकात्मक असर पारिरहेको छ ।
नगरपालिकाले शनिबार गरेको बजार अनुगमनमा साढे ६८ हजार बराबरका अखाद्य वस्तुहरु बरामद गरिएका छन । नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख लोक बहादुर खड्काले शनिबार अत्तरिया बजारका ७९ वटा पसलहरुमा अनुगमन गरिएको बताए । उनले मासु, किराना पसल तथा होटलहरुमा गरिएको अनुगमनमा ठुलो मात्रामा अखाद्य वस्तुहरु बरामद गरिएको बताए । उनका अनुसार कलर मिक्स गरिएका मासु, निषेधित गरिएका प्लाष्टिक, अखाद्य, म्याद नाघेका तथा लेबल नभएका मिठाईका सामग्री लगायतका खाद्य पदार्थहरु बरामद गरि नष्ट गरिएको छ ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रतिनिधि तोयनाथ ओझाले अनुगमनका क्रममा अत्तरिया बजारमा सबै भन्दा बढी अखाद्य रंगको प्रयोग भएका बढी सामग्रीहरु भेटिएका र उक्त बस्तु जफतगरी नष्ट गरिएको बताए । उनले अन्य समयमा अनुगमन भैरहेका भएपनि चाडपर्वको समयमा भने बढी प्रभावकारी रुपमा अनुगमन हुने गरेको बताए ।
यस्तै अत्तरिया बजारमा शुक्रबार गरिएको अनुगमनका क्रममा करिब १० हजार बराबरका अखाद्य वस्तुहरु बरामद गरिएको थियो। अत्तरिया बजारको पहाडरोड तिरका होटल तथा किराना पसलहरुमा ठुलो मात्रामा अखाद्य वस्तुहरु बरामद नभएका भएपनि शनिबार महेन्द्रनगर रोड र धनगढी रोडमा गरिएको अनुगमनमा भने ठुलो मात्रामा अखाद्य वस्तुहरु भेटिएका हुन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिकै रहोवरमा हुने बजार अनुगमनमा नगरपालिकाले अखाद्य वस्तुहरु भेटेको पसलमा सामग्री बरामद गरि पटक पटक सम्झाईबुझाई मात्रै छोड्ने गरेको छ । अघिल्लो पटक जुन पसलमा त्यस्ता सामग्री बरामद गरिएका थिए, सो पसलमै दोस्रो पटक पनि त्यस्ता अखाद्य वस्तु फेला पर्दा पनि बरामद गरेर नष्ट गर्ने काम मात्रै गरेको छ । पटक पटक सुझाव दिँदा पनि अटेरी गर्ने व्यवसायीहरुलाई नगरपालिकाले कारबाही भने गर्न सकेको छैन् । त्यसैले पनि बजारमा अनुगमन गरेको प्रभावकारी नबनेको स्थानियको भनाई छ ।