आजदेखि गोदावरीमा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आज देखि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । १५औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि गोदावरी नगरपालिका-७ हरैयामा रहेको दुर्गा भवानी माविमा सुरु भएको हो ।

प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन । प्रतियोगिता संयोजक शिवराज भट्टराईको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रसासकीय अधिकृत हरिदत्त भट्ट, शिक्षा शाखा प्रमुख, जनप्रतिनिधी, बिभिन्न बिद्यालयका शिक्षक शिक्षिका, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

आजदेखी मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष ४५ विद्यालयका २२ सय बढी विद्यार्थी सहभागि भएका छन । जसमा २२ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालय रहेका छन । प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने छन भने एथलेटिक्सका खेल स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने छ ।

प्रतियोगिता अन्तरगत ६ विधामा खेल खेलाइने छ । जसमा मार्सलाटका ३ विधा, एथलेटिक्स, भलिबल र कबड्डीका खेल रहेका छन् । प्रतियोगितामा पहिलो हुने विद्यालयलाई २० हजार दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको आयोजक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतियोगितामा सहभागिका बिद्यार्थीहरुका लागि १ लाखको स्वास्थ्य बिमा गरिएको छ भने प्रतियोगिता संचालन अबधिभर हेल्थ डेस्कको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागिएको हो । गत बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोदावरी-६ लालपुरमा रहेको शैलेश्वरी माविमा आयोजना गरिएको थियो ।

गोदावरीका अवकाश प्राप्त वाल विकास सहजकर्ता सम्मानित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको उद्घाटन सत्रमा नगरपालिकाले ७ जना अवकाश प्राप्त बाल विकास सहजकर्तालाई सम्मान गरेको छ । सम्मानित हुनेमा शैलेश्वरी आवीमा १६ वर्ष सेवा गरेकी गीता देवी भट्ट, सिद्ध माविमा १५ वर्ष सेवा गरेकी तारा देवी खत्री, मुक्ति आविमा १७ महिना ११ महिना सेवा गरेकी हरिना बोगटी, विद्ध बाबा आविमा २४ वर्ष सेवा गरेकी पुष्पा देवी चौधरी, सरस्वती माविमा २१ वर्ष सेवा गरेकी रामती राना, गणेश आविमा २८ वर्ष ६ महिना सेवा गरेका डिल्ली राज भण्डारी, ग्वासी माविमा १७ वर्ष ४ महिना सेवा गरेकी गंगा देवी दास रहेका छन्। अवकाश पाएका उनीहरूलाई सम्मान स्वरूप नगद २ देखि २ लाख २५ हजार सम्म प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

Loading...