अत्तरिया हस्पिटलमा ४ करोडको लगानीमा सिटिस्क्यान सेवा शुरु

अत्तरिया : कैलालीको अत्तरिया स्थित अत्तरिया हस्पिटलले सिटिस्क्यान सेवा शुरु गरेको छ । शनिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सिटिस्क्यान सेवाको उद्घाटन गरेका छन् ।

सेवाको उद्घाटन गर्दै नगरप्रमुख भट्टले नयाँ थपिएको सेवाले यस क्षेत्रको स्वास्थ सेवामा ठूलो योगदान पुग्ने बताउदै निजि क्षेत्रको अस्पतालले गरेको यति ठूलो लगानीले उत्साहित भएको बताए । अब यस क्षेत्रमा ब्लड बैंकको आबश्यकता रहेकाले त्यसको लागि सबैको ध्यान जानू जरुरी रहेको नगर प्रमुख भट्टले बताएका छन् ।

अस्पतालका अध्यक्ष डा.आनन्द पाठकले झण्डै ४ करोडको लगानीमा अत्तरियामा पहिलो पटक सिटिस्क्यान सेवाको सुरुवात गरिएको बताउदै सिटिस्क्यान सेवा शुरु भएपछि अब यहाँका बिरामीहरुले बाहिर जानू नपर्ने बताएका छन् । २०७९ साल देखि सञ्चालनमा आएको अस्पतालमा सम्पुर्ण सेवाहरु उपलब्ध रहेको बताएका छन् ।

उनले सामान्य एक्सरे, भिडियो एक्सरे र ल्याबहरुबाट अस्पतालले शुरु गरेको बताउदै बिस्तारै अप्रेसन सेवा संगसंगै समय र सेवाग्राहिहरुको मागअनुसार बिभिन्न सेवासुविधाहरु थप गरेको बताए । आजबाट सिटिस्क्यान सेवाको सुचारु गरेसंगै अब अस्पतालमा एमआरआई सेवा बाँकि रहेको बताउदै उक्त सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने अस्पतालका अध्यक्ष डा.पाठकले बताए । अहिले एक सय बेडको अस्पताल सञ्चालन भईरहेको छ भने ९५ जना कर्मचारी कार्यरत रहेका छन् ।

यस्तै अस्पतालले आजनै रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने बिरामिहरुलाई फलफुल वितरण पनि गरेको छ ।

अस्पतालका संस्थापक अध्यक्ष रघुनाथ पाठकको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देबि रोकाया, नगरप्रबक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, वडा नम्बर १२ का वडाध्यक्ष भिम खड्का, अस्पतालका सञ्चालक डिल्लीराज पाठक, अस्पतालका डाक्टर, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Loading...