भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं : आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।ग्रहणका बेला नित्य कर्म गर्नुहुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन ।

आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए ।

यो चन्द्रग्रहण वि.सं. २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।

दिउँसो ४ः१९ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो ।

सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

Loading...