अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ मा रहेको खुटिया खोलामा गोदावरी नगरपालिकाको टोलीले अनुगमन गरेको छ । आज (बिहीबार) उपमेयर नेतृत्वको टोलीले खुटिया खोला र खैराना खोलामा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मापदण्ड मिचेको नपाइएको अनुगमन टोलीकी संयोजक एवम् नगर उपप्रमुख शारदा देवी रोकायाले बताइन् । उनले खोलामा प्राविधिक सहितको टोलीले नाप जाँच गर्दा मापदण्ड भित्रै रहेर नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको बताइन् ।
अनुगमन टोलीमा उपप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्ट, नगरपालिकाका इन्जिनियर पूर्ण कुँवर कार्यपालिका सदस्य चन्द्रा भूल, धनी कामी लगायतको सहभागिता रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत भट्टले मापदण्ड अनुसार नै उत्खनन भएको पाइएको बताएका छन् । उनले आइइई मापदण्ड अनुसार ९० देखि १२० सेन्टिमिटर सम्म गहिरो खन्न पाउने भएकाले अनुगमनका क्रममा त्यो भित्रै रहेर उत्खनन गरेको भेटाएको बताए । सङ्कलन केन्द्रमा २ वटा मात्रै इक्साभेटर, जेसीबि प्रयोग गर्नुपर्ने मापदण्ड पनि कार्यान्वयन गरेको भेटाएको उनले बताएका छन् । उनले १२ फुट १५ फुट गहिरो खनिएको भनेर आएको खबरमा सत्यता नभएको पाइएको बताए ।
बुधवार एमाले गोदावरी नगर कमिटीको टोली खुटिया खोलामा पुगेको थियो । उक्त टोलीले खुटिया खोलामा दोहन भएको पाइएको बताएको थियो । नगर अध्यक्ष सन्तोष सिंहले खोलामा २ मिटर भन्दा बढी गहिरो खनिएको बताएका थिए ।
बुधबार विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि बिहीबार नगरपालिकाको अनुगमन टोली खुटिया खोलामा पुगेको हो ।