अत्तरिया : कैलालीको गोदावरी-३ मा रहेको खप्तड विधा निकेतनले असल अभिभावकत्व सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आज (शनिवार) विद्यार्थीका अभिभावकहरूलाई सहभागी गराएर विद्यालयले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद ज्ञवालीले बालबालिकालाई सही मार्गमा डोर्याउन अभिभावकले निभाउनुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए । उनले प्रशिक्षणका क्रममा अभिभावकले असल अभिभावक बन्न सके मात्रै बालबालिकाबाट राम्रो र असल कुराको अपेक्षा गर्न सकिने बताएका थिए । साथै बालबालिकाहरूसँगको व्यवहारले पनि उनीहरूको मनोविज्ञानमा असर पर्ने भएकाले सकभर उनीहरूसँग साथीत्वको व्यवहार गर्नुपर्ने ज्ञवालीको भनाई थियो ।
खप्तड विद्या निकेतनका प्रिन्सिपल श्याम बहादुर खत्रीले असल अभिभावक कसरी बन्ने भन्ने विषयमा प्रशिक्षण दिइएको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यार्थीसँगै अभिभावकको पनि अहम् भूमिका हुने भएकाले प्रशिक्षण दिइएको बताए ।
उनले विद्यार्थी ६-७ घण्टा मात्रै विद्यालयमा रहने र बाकी समय अभिभावक सँग रहने भएकाले विद्यार्थीको संस्कारको विकास परिवारबाट हुने बताए । प्रशिक्षण कार्यक्रमले भविष्यमा अभिभावकहरूको बालबालिकाप्रतिको व्यवहारमा परिवर्तन आउने अपेक्षा लिएको समेत उनले बताए ।

