बैंकका ६१ कार्यालय क्षति, राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड

काठमाडौं : यहि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ। बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको हो ।

आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३६ करोड रुपैयाँ बराबरको सुन तथा नगद लुटेका हुन् । बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ ।

‘जेनजी आन्दोलनको नाममा भएको लुटपाट, तोडफोड र आगजनीबाट राष्ट्रिय वाणिज्य बैंकलाई सुन र नगदको क्षति भएको छ,’ रेग्मीले भने, ‘सुन तथा नगद गरेर ३८ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।’

बुधबार कायम भएको सुनको मूल्यका आधारमा मूल्य निकालिएको हो । बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८५ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । बैंकबाट आन्दोलनकारी ३३ करोड २४ लाख रुपैयाँ भन्दा धेरैको सुन नै लुटेको देखिन्छ ।

भौतिक संरचना कम्प्युटर, फर्निचर, क्यामेरा, प्रिन्टर, कागजपत्रहरू पूर्णरूपमा क्षति पुगेको छ । तर, कर्जाका तमसुकहरू भने सुरक्षित रहेको उनले बताए। बैंकका अन्य शाखाहरूमा पनि भौतिक क्षति पुगेको बताउँदै रेग्मीले भने, ‘बानेश्वर, भैरहवा बाहेक, सरकारी कार्यालयहरू रहेको शाखा तथा काउन्टहरूमा पन क्षति पुगेको छ । अन्य शाखा तथा काउन्टरमा नगद क्षति भएको छैन ।’

नेपाल बैंकर्स संघका अनुसार देशभरि बैंकहरूका ६१ वटा कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् । बैंकहरूका केही स्थानका एटीएम मेसिन तोडफोड भएका छन् । बैंकका ती कार्यालयको झ्यालढोका फुटाउने तथा फर्निचर तोडफोड भएको संघले जनाएको छ । पूर्ण रूपमा क्षति भएका केही मात्र रहेको संघले जनाएको छ । कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको संघले जनाउको छ ।

Loading...