श्याम बोहरा/अत्तरिया : दसैं नजिकिएसँगै कैलालीको अत्तरिया बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । आइतबार बिहानैदेखि बजारमा दसैंका लागि आवश्यक पूजा सामग्री, मिठाई तथा नयाँ लुगाकपडा किन्ने ग्राहकको भीड देखिए पनि व्यवसायीले भने विगतका वर्षको तुलनामा व्यापार घटेको बताएका छन् ।
दसैंका लागि नयाँ लुगाकपडा किन्ने, घरायसी सामग्री जुटाउने र मिठाईलगायतका परिकार खरिद गर्ने ग्राहक बजारमा देखिन्छन् । चाडपर्व नजिकिएसँगै किनमेल गर्न पाउँदा ग्राहक उत्साहित देखिए पनि बजारमा अपेक्षाअनुसार कारोबार हुन नसकेको व्यवसायीको गुनासो छ ।
फेन्सी पसल सञ्चालन गरिरहेकी व्यवसायी दुर्गा कडायतले विगतमा दैनिक एक लाख रुपैयाँभन्दा बढीको कारोबार हुने समयमा अहिले १० हजार रुपैयाँको व्यापार गर्नसमेत कठिन भइरहेको बताईन् । उनका अनुसार युवा पलायन, आर्थिक मन्दी, महँगी, सीमावर्ती भारतीय बजारबाट सामान खरिद गर्ने प्रवृत्ति र अनलाइन किनमेलका कारण स्थानीय बजारको व्यापार प्रभावित भएको छ । अनलाइनबाटै सामान घरसम्म आइपुग्ने भएपछि ग्राहक बजारसम्म आउने क्रमसमेत घटेको उनको भनाइ छ ।
त्यस्तै, अर्का व्यवसायी उमेश तिमिल्सिनाले विगतका वर्षमा दसैंको समयमा ग्राहकलाई सेवा दिन भ्याइनभ्याइ हुने गरेको भए पनि अहिले पसलमा फुर्सदिलो भएर बस्नुपर्ने अवस्था आएको बताए । व्यापारमा सुधार आउने अपेक्षा गरे पनि अवस्था झन् कमजोर हुने हो कि भन्ने चिन्ता व्यक्त गरे ।
सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा परिचित अत्तरिया बजार पहाडी सात जिल्ला र तराईका दुई जिल्लालाई जोड्ने प्रमुख व्यापारिक केन्द्र हो । पूर्व-पश्चिम आवागमनको महत्वपूर्ण केन्द्रसमेत रहेकाले यहाँ स्थानीय ग्राहकसँगै विभिन्न जिल्लाबाट आउने यात्रु तथा उपभोक्ताको चहलपहल हुने गर्छ । तर, बजारमा मानिसको आवतजावत देखिए पनि त्यसअनुसार किनमेल र कारोबार नबढ्दा स्थानीय व्यवसायी चिन्तित छन् ।
व्यवसायीका अनुसार बढ्दो महँगी, उपभोक्ताको कमजोर क्रयशक्ति र अनलाइन व्यापारको विस्तारले परम्परागत बजारको कारोबारमा चुनौती थपेको छ । चाडपर्वको समयमा समेत व्यापारले गति लिन नसक्दा व्यवसाय सञ्चालन र खर्च व्यवस्थापनमा समस्या हुने उनीहरूको चिन्ता छ ।
दसैंलाई लक्षित गर्दै बजारमा ग्राहकको चहलपहल बढे पनि त्यसलाई वास्तविक कारोबारमा रूपान्तरण गर्न नसकिएको व्यवसायीको अनुभव छ । आगामी दिनमा किनमेल बढ्ने र व्यापारमा सुधार आउने अपेक्षा गरिएको छ ।