घटस्थापनादेखि आजसम्म साढे पाँच लाख बढीले छोडे काठमाडौँ उपत्यका

काठमाडौँ : बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेका छन्। यससँगै उपत्यकाका प्रमुख नाका, बसपार्क तथा सडकमा यात्रुको चहलपहल र सवारीसाधनको चाप बढेको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढिरहेको उनले बताए।

ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको चाप बढेसँगै यी नाकामा सवारी आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले निगरानी बढाएको छ । दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको काफ्लेले बताए ।

उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ ।

लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयबारे विशेष ध्यान दिनुपर्ने उनले बताए । यात्रु तथा चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् । उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक घर फर्किन थालेपछि राजधानीका सडक तथा बाहिरी नाकामा चहलपहल बढेको छ ।

Loading...