अत्तरिया : कैलालीको ओलानीमा रहेको गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडले १३ औँ स्थापना दिवसको अवसरमा सचेतनामूलक र्याली निकालेको छ ।
बिहीबार सहकारीले स्थापना दिवसको अवसरमा लागू औषध दुव्र्यसनी, महिला हिंसा तथा छाउपडी कुप्रथा अन्त्यका लागि सचेतनामूलक र्याली निकालेको हो ।
गोदावरीको वडा नम्बर ११ मा रहेको उक्त सहकारीले निकालेको र्यालीमा वडा नम्बर १०, ११ र १२ का स्थानीयको सहभागिता रहेको थियो । र्याली कोल्मुडा चौकी, सिमिडी कटान हुँदै सहकारीको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरूले छाउपडी कुप्रथा अन्त्य गरौँ, महिला हिंसा अन्त्य गरौँ, महिलाको सम्मान हाम्रो पहिचान, १३ औँ सहकारीको स्थापना दिवस सफल पारौँ लगायतका नारा लगाइएका थिए ।
कोष सभामा बोल्दै सहकारीका अध्यक्ष कृष्ण विकले विगतका वर्षझैँ यस पटक पनि हिंसा रहित, समतामूलक समाज निर्माणका लागि सचेतनामूलक र्याली निकालिएको बताए । उनले समाजमा रहेका महिला हिंसा, छाउपडी कुप्रथा र लागू औषध दुव्र्यसनी अन्त्य होस भन्नका लागि र्याली आयोजना गरिएको बताए ।
