अत्तरिया : नेकपा एमालेका सचिव लेखराज भट्टले घर जल्दा भौतिक भन्दा पनि भावनामा ठुलो चोट पुगेको बताएका छन् ।
मंगलबार अत्तरिया स्थिति आगलागी भएको घरको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै घर जल्दा भावना र इतिहास जलेको बताए । ‘आगलागीबाट ९/१० करोडको क्षति पुगेको होला । तर, यो क्षति भन्दा पनि मेरो भावनामा ठुलो चोट पुगेको छ ।
यो घरमा युद्धका इतिहास, किताब बचपनका फोटोहरू थिए । ती सबै नष्ट भए’ उनले भने ‘विश्व मै कहीँ नभएका किताबहरू थिए । ती सबै नष्ट भए । जसको कुनै मूल्य नै छैन ।’ उनले आफूमाथि निराधार आरोप लगाएर आगजनी गरिएको बताउँदै अहिले पनि कुनै भ्रष्टाचार, उत्पीडन गरेको प्रमाणित भए सजाय भोग्न तयार भएको बताए । उनले आगलागी गराउनका लागि यसै क्षेत्रका मानिस आएको बताए ।
‘मैले आगो लगाउन को को आएका छन् चिनेको छु । आगो लगाउने भारतबाट पनि आएका छैनन् । बाहिरबाट पनि आएका छैनन् । यसै क्षेत्रका छन्’ उनले भने ‘अहिले ती मानिसको नाम भनेर केही फाइदा छैन ।
सरकारले आन्दोलनमा सहभागी भएकालाई कारबाही नै नगर्ने भनेपछि नाम भनेको केही फाइदा छैन ।’ उनले आफ्ना माग पुर गर्न सडकमा आएका र विध्वंस मच्चाउनका लागि सडकमा आएकालाई छुटाएर कारबाही गर्नुपर्ने बताए । उनले अहिले देश गम्भीर मोडमा पुगेको बताउँदै देश बच्छ की बच्दैन भन्ने चिन्ता बढेको बताए । उनले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन पछि अहिले राज्य छ वा छैन भन्ने अवस्था पुगेको बताए ।
उनले राष्ट्रवादी नेतृत्वमाथि प्रहार गर्न खोजिएको भन्दै यो गम्भीर विषय भएको बताए । अहिले संविधान आइसियुमा पुगेको जस्तो अवस्था रहेको उनले बताए ।