लिन र ब्राउन घर फर्किए, अहमद र ज्याक्सन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

अत्तरिया : एनपीएलका प्लेअफ चरणअघि सुदूरपश्चिम रोयल्सले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ।

अष्ट्रेलियन ब्याटर क्रिस लिन इन्जुरीका कारण बाहिरिएपछि र जोश ब्राउन बिग बाश लिग खेल्न घर फर्किएपछि रोयल्सले अमेरिकामा खेल्दै आएका पाकिस्तानी–मूलका ३२ वर्षीय टप–अर्डर ब्याटर मुख्तर अहमदलाई टिममा भित्र्याएको हो।

अहमदले पाकिस्तान राष्ट्रिय टिम र पाकिस्तान ए बाट ६ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् र ३२ को औसतसँगै दुई अर्धशतकसमेत प्रहार गरेका छन्।

त्यसैगरी रोयल्सले भारतका अनुभवी विकेटकिपर–ब्याटर शेल्डन फिलिप्स ज्याक्सनलाई पनि अनुबन्धन गरेको छ। ३९ वर्षीय ज्याक्सनले सौराष्ट्रबाट रणजी ट्रफी खेल्दै ७ हजारभन्दा बढी फस्ट–क्लास रन बनाइसकेका छन्, जसमा २१ शतक सामेल छन्।

उनले आईपीएलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट पनि खेलिसकेका छन्। नयाँ अनुबन्धनसहित सुदूरपश्चिम रोयल्सले प्लेअफमा थप बलियो टिम उतार्ने तयारी गरेको छ।

Deep Jyoti Pustak psl
Loading...