धनगढी : कैलाली जिल्लाका विभिन्न तीन स्थानबाट प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छली ल्याइएका करिब ६२ हजार रुपैयाँ बराबरका विभिन्न सामानहरू बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका विभिन्न युनिटहरूबाट खटिएको गस्ती टोलीले आइतबार ती सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार हिजो बिहान ८ः०० बजे धनगढी उपमहानगरपालिका–९ बांग्राकटानस्थित अस्थायी प्रहरी पोष्ट जुगेडाको टोलीले अन्दाजी १२ हजार २५० रुपैयाँ बराबरको सुपरपावर सुर्ती, रजनीगन्धा गुट्खा र तुलसी सुर्ती बरामद गरेको थियो।
त्यसैगरी, साँझ ६ः५० बजे इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले टिकापुर नगरपालिका–३ रामुर चोकस्थित सडक किनारामा बेवारिसे अवस्थामा रहेको २० हजार ४०० रुपैयाँ बराबरको मम्फली र सिद्रा माछा नियन्त्रणमा लिएको छ।
यसैक्रममा, साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय पृथ्वीपुरको गस्ती टोलीले भजनी नगरपालिका–७ हिक्मतपुर घाटबाट २९ हजार ३२० रुपैयाँ बराबरको चिनी, तसला, रेन्च चाबी, कर्नी, नटबोल्ट र बिडी लगायतका सामानहरू बरामद गरेको छ। बरामद गरिएका कुल ६१ हजार ९७० रुपैयाँ बराबरका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ।
यस्तै कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छलि गरिएका सामग्रीहरु प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएका छन्। हिजो बिहान करिब ११ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ स्थित पूर्णागिरी घाट सडक किनारामा खटिएको प्रहरी टोलीले अवैध रूपमा ल्याइएका फलफूल र अन्य सामग्री फेला पारे। जसमध्ये अनार, सुन्तला र गुपट्टी लगायतका सामग्रीको कुल मूल्य लगभग रु. १९ हजार ३ सय २० रहेको छ।
यी सामानहरु भारतबाट भन्सार छलि गरि ल्याइएको जनाइएको छ। यसैगरी, हिजो अपराह्न १ बजे कञ्चनपुरको भिमदत्त नगरपालिका–९, तुम्नाडी स्थित एक स्थानमा पनि प्रहरीले अवैध भन्सार सामग्री फेला पारे।
उक्त स्थानमा समेत भारतीय सीमाबाट लिइएका सामानहरुको अनुमानित मूल्य रु. १८ हजार ५ सय रहेको थियो। यस्तै, हिजो राति १० बजेको समयमा, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८, पचुई स्थित भगवति इटा उद्योग नजिक अवैध भन्सार सामग्रीको ठूलो खेप फेला पर्न आयो।
प्रहरीले यहाँ गाडी मर्मतका सामग्री, ट्याक्टर ट्युव, मुविल तेल लगायतका सामग्री र ओसारपसारमा प्रयोग गरेको यू के ०६ एल ९९३९ नम्बरको मोटरसाइकलको साथमा अन्य सामान नियन्त्रणमा लिए। यस घटनामा जम्मा लगभग रु. १ लाख ४० हजार मूल्य बराबरको सामान बरामद गरिएको छ।