अत्तरिया : कैलालीको अत्तरियामा सञ्चालन भईरहेको सृजनशील गोदावरी साँस्कृतिक महोत्सवमा आज शनिबार चर्चित र्यापर जी बब, गायिका अन्जु कुश्मी लगायत कलाकारहरुको प्रस्तुती रहने भएको छ । यस्तै आजै देउडा गायक शेरे आउजी, जे आर भट्ट र डान्सर आरुशी मगर लगायत अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवको तेस्रो दिन शुक्रबार चर्चित गायक हेमन्त शर्मा, चेतन बोहरा, देउडा गायक भुवन दाहाल, डान्सर सरस्वती सेठी लगायत स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु सहित बिभिन्न डान्स क्लबहरुको नृत्य पनि प्रस्तुत भईरहेको आयोजकले जनाईएको छ ।
पौष ९ गतेदेखी सुरु भएको महोत्सव पौष १९ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहदै आएको छ । महोत्सवमा १८० स्टल रहेका छन् । अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।
महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको न्यु सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् ।