अत्तरियामा जारी महोत्सवको आज समापन गरिँदै, दुर्गेश थापा लगायतका कलाकारको प्रस्तुति रहने

अत्तरिया : कैलालीको अत्तरियामा सञ्चालन भईरहेको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ को आज समापन गरिँदैछ । न्यु सृजनशील युवा क्लबको आयोजनामा पुस ९ गते देखि सुरु भएको महोत्सवको आज १३औं दिनमा समापन गरिन लागेको हो ।

पुस १९ गते सम्म सञ्चालन हुने भनेको महोत्सव २ दिन थप गरेर पुस २१ गते सम्म सञ्चालन भएर आज समापन गरिन लागेको छ । महोत्सवको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले समापन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवको समापनको दिन आज चर्चित गायक दुर्गेश थापा, शोभा त्रिपाठी, गंगा थापा, क्रिस बिसी, सरस्वती धामी लगायतका कलाकारले पनि आफ्नो प्रस्तुति राख्ने कलाकार संयोजक शेर बहादुर बोहराले बताएका छन् । महोत्सवको बाह्रौं दिन आईतबार चर्चित गायक अर्जुन सापकोटा, गायिका एलिना चौहान, शोभा त्रिपाठी, गायक सुरेश चोखाल, मोडल मनिषा सिंह लगायत स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए ।

आयोजक न्यु सृजनशील युवा क्लबले सञ्चालन गरेको महोत्सवमा दर्शकको उत्साहजनक साथ पाएको छ । स्थानीय कला,संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा १८० स्टल रहेका छन् भने विभिन्न सांस्कृतिक कार्यक्रम, थारु गाउँ प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन् ।

अत्तरियाको पूर्वरोडस्थित सुरक्षा सामुदायिक वनको  खुल्ला चौरमा सञ्चालन भएको महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ । महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको न्यु सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् ।

अत्तरियामा पहिलो पटक न्यु सृजनशील युवा क्लबलेनै २०६७ सालमा महोत्सव आयोजना गरेको थियो । २०६७ सालदेखि २०७१ साल सम्म अत्तरियामा महोत्सव आयोजना गर्दै आएको न्यु सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो । २०७२ देखि २०८० सम्म भने अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना गरेको थियो । उद्योग वाणिज्य संघमा भएको आन्तरिक विवादका कारण संघले महोत्सवलाई निरन्तरता दिन नसकेपछि फेरि क्लबले यस वर्ष नयाँ व्यवस्थापनका साथ ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ आयोजना गरेको हो ।

Loading...