अत्तरिया : देवभूमिको प्रवेशद्वारका रूपमा परिचित नेपालकै प्रसिद्ध तीर्थस्थल कैलालीको गोदावरीधाम कुम्भमेला क्षेत्रमा लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ ।
गोदावरीधाममा आयोजना हुने मकर मेलाको समुद्घाटन २०८२ साल पुस ३० गते दिउँसो १ बजे धार्मिक विधि-विधानअनुसार विशेष पूजा-आजासहित गरिने आयोजकले जनाएको छ । मेलाको शुभारम्भ कार्यक्रममा सन्त-महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, गुरुकुलका वटुहरू तथा श्रद्धालुहरूको सहभागिता रहनेछ ।
पुस ३० गतेदेखि माघ १२ गतेसम्म सञ्चालन हुने बाह्रराशि दर्शन मकर मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग-ध्यान, भजन-कीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने छन् ।
गोदावरीधाम विकास समितिका अध्यक्ष पद्मराज जोशीका अनुसार उक्त धार्मिक अनुष्ठानमा देशभरका श्रद्धालु महानुभावहरू तथा विभिन्न सामाजिक र धार्मिक संघ-संस्थालाई सहभागिताका लागि सादर अनुरोध गरिएको छ ।