डडेलधुरा : डडेलधुरा जिल्लाको परशुराम नगरपालिका–१२ जोगबुढा स्थित रङ्गमैदानमा नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देश सभा सम्पन्न भएको छ। आज आयोजित विशेष कार्यक्रमका बीच उक्त सभा सम्पन्न गरिएको हो।
नेपाली कम्युनिस्ट पार्टी परशुराम नगरपालिकाका सभापति शेर सिंह माल ‘डाइमण्ड’को संयोजकत्वमा सम्पन्न कार्यक्रममा बृहत् र्यालीसहित जनताको उल्लेख्य सहभागिता रहेको थियो। पार्टी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थियो।
कार्यक्रमका अवसरमा सहिद परिवारजन तथा घाइते अपाङ्ग जनमुक्ति सेनाका सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।
र्यालीका क्रममा “नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद”, “युवा संगठन जिन्दाबाद”, “वीर सहिद लाल सलाम”, “पार्टी एकता सन्देश सभा सफल पारौँ” लगायतका नाराहरू लगाइएका थिए।
यसैबीच, पार्टी एकता सन्देश सभाकै अवसरमा परशुराम नगरपालिका तथा नगरपालिकाका सबै १२ वटै वडामा चुनावी प्रचारप्रसार समिति गठन गरिएको घोषणा गरिएको छ। गठन गरिएका समितिहरूले पार्टीको नीति, कार्यक्रम तथा चुनावी एजेण्डा जनस्तरसम्म पुर्याउने निर्णय गरिएको छ।
घोषित तालिकाअनुसार प्रचारप्रसार कार्यक्रम प्रत्येक दिन बिहान १० बजे सुरु हुने जनाइएको छ। प्रचारप्रसार कार्यक्रमको मिति, समय र स्थान यस प्रकार रहेका छन् :
२०८२ / १० /२० गते – सलौन
२०८२ /१०/२१ गते – गोगन
२०८२ /१० /२२ गते – शीर्ष
२०८२ /१० / २३ गते – पोखरी
२०८२/ १०/२४ गते – गोराघर
२०८२ /१० / २५ गते – कुणा बिओपी
२०८२ /१०/ २६ गते – सादनी चौराह
२०८२ /१०/ २७ गते – जमरानी
२०८२ /१० /२८ गते – गाइबाधे
२०८२ /१०/ २९ गते – जजोला तिहार घर
२०८२ /११ /०१ गते – सिमलबण्ड
२०८२/ ११ /०२ गते – खजुरानी
आयोजकका अनुसार, यी कार्यक्रमहरूले पार्टी एकतालाई थप मजबुत बनाउँदै परशुराम नगरपालिकाका सम्पूर्ण वडामा जनस्तरसम्म पार्टीको सन्देश पुर्याउने विश्वास लिइएको छ।