अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा ८ वटा सडकको निर्माण कार्य सुरु भएको छ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रिय सहरी विकास आयोजनाले नगरभित्रकाका ८ वटा सडकको निर्माण कार्य सुरु गरेको हो ।
आज (सोमबार) गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उक्त निर्माण कार्यको शिलान्यास गरेका छन । सडकहरु निर्माणको जिम्मा पाएको केएसएनएस-बिसिपिएल जेभिले आज गोदावरी-५ स्थित बिजौरा देखी आँखा अस्पताल हुदैँ ६ लेन सडक जोड्ने सडकबाट आजदेखी काम सुरु गरेको हो ।
सडक निर्माण कार्यको शिलान्यास पश्चात बोल्दै नगरप्रमुख भट्टले धेरै प्रयास पश्चात नगरका ८ वटा सडकहरु निर्माणका लागि बजेट ल्याउन सकिएको र बल्ल आज आएर निर्माण कार्य सुरु गर्न सफल भएको बताए । उनका अनुसार बिजौरा देखी आँखा अस्पताल हुदैँ ६ लेन सडक जोड्ने बाटो, मालाखेती अस्पताल देखी कृष्णमन्दिर सम्मको बाटो, ग्वासी मावि हुदै फल्टुडे जोड्ने सडक, अत्तरिया-रिङरोड, शान्तिमार्ग रोड, लालपुर गौडी रोड, मालाखेती भट्ट किराना पसल रोड, र तेघरी सुप समावेशी स्कुल देखी आर्मी व्यारेक सम्म रहेका छन ।
नगरप्रमुख भट्टले उक्त सडकहरु निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनिले समय अगावै गुणस्तरिय कार्य गरि सम्पन्न गर्ने कुरामा आफू विस्वस्त रहेको बताएका छन् । उनले एडिबीको सहयोगमा निर्माण हुन लागेका सडकहरु निर्माण सम्पन्न भए यहाँका स्थानियहरुलाई एकदमै ठुलो राहत हुने बताए ।
निर्माण कम्पनिका ईन्जिनियर भुपेन्द्र कुमार मण्डलले ३२ करोड ५९ लाख ५३ हजार ५१६ रुपैया कुल लागतमा नगरका विभिन्न ८ वटा सडकहरु निर्माण गरिने बताए । उनले कुल ८.२३ किलोमिटर सडक निर्माण गरिने बताएका छन् । उनका अनुसार निर्माण हुने सडकहरुमा ड्रेन, केही भागमा फुटपाथ र स्ट्रिट लाईटको पनि व्यवस्था रहेको छ । त्यतिमात्रै नभई स्विपिङ मेसिन र सिभरजेट मेसिन पनि प्रोजेक्ट अन्तरगत रहेको इन्जिनियर मण्डलले जानकारी दिएका छन् ।