काठमाण्डौ : भोलि हुने चुनावका सन्दर्भमा देशभरको समग्र वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले सन्तोषजनक रहेको निष्कर्ष सार्वजनिक गरिएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले सार्वजनिक गरेको प्रतिवेदनमा मतदाता उत्साहित रहेको र चुनाव स्वच्छ, स्वतन्त्र तथा भयमुक्त रूपमा सम्पन्न हुने आधार तयार भएको उल्लेख गरिएको छ ।
जियोकले स्थलगत अवलोकन, कल सेन्टरमा प्राप्त सूचनाका साथै राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको छलफलका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ । जियोकका महासचिव कृष्णमान प्रधानका अनुसार निर्वाचनको पूर्वतयारी सन्तोषजनक रहेको पाइएको छ ।
राष्ट्रिय पर्यवेक्षक प्राध्यापक चिरञ्जीवी खनालले मतदान केन्द्र निर्माण, कर्मचारीको खटाइ तथा सुरक्षा निकायको तैनाथी योजनाअनुसार भइरहेको जानकारी दिनुभयो । विगतका ठूला आमसभा र जुलुसको तुलनामा यसपटक दलहरू गाउँटोलमै पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा केन्द्रित भएको पाइएको उहाँले बताउनुभयो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभियन्ता हरिविनोद अधिकारीका अनुसार मतदान केन्द्रमा आवश्यक स्रोतसाधनसहित कर्मचारी पुगेका छन् र सुरक्षा संयन्त्र शान्तिपूर्ण चुनाव हुनेमा विश्वस्त देखिएको छ । अर्का राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा. मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय तथा वडा कार्यालय भवनमा रहेकाले मतदातामैत्री वातावरण रहेको उल्लेख गर्नुभयो ।
प्रतिवेदनमा जिल्लास्तरमा एकीकृत सुरक्षा योजना कार्यान्वयन सन्तोषजनक रहेको, दलहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण रहेको उल्लेख छ । देशभर मतदान सामग्री र कर्मचारीको खटाइ योजनाअनुसार सम्पन्न भएको जनाइएको छ । जियोकले सातै प्रदेशका ३६ जिल्लाका २५० स्थानीय तहमा ४०० राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनपूर्व अवस्थाको अध्ययन गरेको जनाएको छ ।