अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’को अवधारणा अघि सारेको छ । प्रशासनिक कामकारबाहीलाई सरल र छिटो बनाउने उद्देश्यले ‘पेपरलेस धनगढी’ को अवधारणा अघि सारिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताएका छन् । यस अवधारणाले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् । डिजिटल प्रणाली लागू भएमा घरै बसीबसी सेवा लिन सकिने उनले बताए ।
यसअन्तर्गत जन्मदर्ता, नागरिकतासहित विभिन्न सिफारिसहरु, दर्ता तथा नवीकरणजस्ता सेवाहरूलाई क्रमश अनलाइनमार्फत उपलब्ध गराउने तयारी भइरहेको धनगढी उपमहानगरपालिकाका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख अनुप भट्टले बताए । स्थानीय सरकारका विभिन्न सेवा प्रणली, सूचनाहरुलाई एउटै प्लेटफर्ममा एकिकृत गरी नागरिकलाई छिटो, पारदर्शी र सहज सेवा प्रदान गर्ने सूचना प्रविधि प्रणाली (युडिजीपी) आफूहरुले विकास गरिरहेको उनले बताए ।
युएनडिपीसंगको साझेदारीमा उक्त प्रणाली तयार गर्न लागिएको उनले बताए । प्रणाली विकास अन्र्तगत पहिलो चरणकोे काम आगामी असार पहिलो हप्ता सक्ने तयारी रहेको भट्टको भनाई छ । पहिलो चरण अन्र्तगत नागरिक इ-केवाइसी,मोड्युल, सिफारीस मोड्युल र फाइल ट्रयाकिङ मोड्युलको विकास गरिने उनले बताए ।
पहिलो चरणको विकासको काम सकेलगत्तै युडिजीपी प्रणाली लागू गरिने उनले बताए । युडिजीपी प्रणाली लागू भएपिछ धेरै सेवाहरु अनलाइन बाट प्रवाह हुने भएकोले कम साक्षरता भएका नागरिकहरुका लागि सहायता डेस्क स्थापना गरिने भट्टले बताए । सहायता डेस्कले नागरिकलाई अनलाइन सेवा प्रयोग गर्न सहयोग गर्ने, आवेदन प्रविष्ट गर्न सहयोग गर्ने र आवश्यक कागजात डिजिटल प्रणालीमा दर्ता गरी सम्बन्धित शाखालाई फर्वाड गर्ने कार्य गर्नेछ ।
त्यसपछि ६ महिनाभित्र सम्पन्न गर्ने गरी दोस्रो चरणको प्रणाली विकासको काम सुरु गरिनेछ । दोस्रो चरण अन्र्तगत इ-सिग्नेचर मोड्युल,डिजिटल अभिलेख व्यवस्थापन प्रणाली, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन मोड्युल,कार्यालय विवरण, सार्वजनिक सूचना मोड्युल लगायतको विकास गरी लागू गरिनेछ । यस प्रणालीले पेपर बोकेर कोठा-कोठा धाउन नपर्ने र डिजीटल माध्यमबाट कागजरहित र नागरिककेन्द्रित सेवाप्रदान गर्नेगरी आफूहरुले प्रणाली विकास गर्न लागेको उनले बताए ।
“घर बसेर नै जन्मदर्ता, नागरिकतासहित विभिन्न सिफारिसहरु, दर्ता तथा नवीकरणजस्ता कागजात प्राप्त गर्न सकिनेछ, उनले भने, कुनै कागजात अपुग भएमा वा कुनै अन्य समस्या देखिएमा सेवाग्राहीको मोबाइलमा नोटिफिकेशन तथा म्योसज आउँछ र सोहि अनुसार सेवाग्राहि अघि बढ्नसक्छन् ।” सो प्रणाली लागू भएमा सेवाग्राहीले मोबाइलमै आफ्नो कागजात प्राप्त गर्ने र हार्डकपी चाहिएमा मात्रै वडा वा पालिका आउनुपर्नेछ ।
सेवा प्रवाहकाक्रममा कुनै गुनासो भए पनि सो सफ्टवयर मार्फत नै राख्नसकिने व्यवस्था रहेको सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख भट्टले बताए । धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले यो प्रणाली लागू भएमा सेवाग्राहीको समय तथा खर्च बचत हुने बताइन् । डिजिटल अभिलेख राखिँदा सूचनाको सुरक्षा र व्यवस्थापन पनि थप सुदृढ हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।