गोदावरी-६ गौडीमा कात्तिक १९ गते बृहत् सांस्कृतिक कार्यक्रम हुँदै, एलिना चौहान आउने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ र ७ को संगम स्थल गौडीमा कात्तिक १९ गते बृहत् सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ ।

दीपशिखा युवा क्लबको आयोजनामा विगतका वर्षहरूझैँ यस वर्ष पनि दशैंतिहार विशेष बृहत् सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ भने चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुति मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य प्रायोजक ग्रिन होम प्रा.लि. रहेको छ । साथै, कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग प्राप्त भइरहेको र आयोजकले थप सहयोगका लागि सबैमा अनुरोध गरेको छ ।

Dhangadhi_Tihar 2083

दसैँतिहारको अवसरमा वर्षभरीको सुखदुखलाई एकआपसमा साट्ने अवसर संगै आपसी एकता, भाइचारा र आत्मीयता बढाउँदै सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष दीर्घ साउदले बताए । उनले गाउँघरमा रहेका प्रतिभाहरुलाई उजागर गर्नुका साथै कार्यक्रममा विशुद्ध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिने बताएका छन् ।

उनका अनुसार विभिन्न संघसंस्था, स्थानीयवासी तथा गोदावरी नगरपालिका-६ र आसपासका क्षेत्रमा बसोबास गरी हाल स्वदेश तथा विदेशमा रहेका दाजुभाइहरूको सहयोगमा कार्यक्रमको तयारी भइरहेको छ । उनले कार्यक्रम सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरिएको बताए।

यसैबीच, कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ६ र ७ बाट शैक्षिक सत्र २०८२ मा कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिने भएको छ ।

उक्त पुरस्कार अत्तरियास्थित सत्यवती एकेडेमीले उपलब्ध गराउने अध्यक्ष साउदले जानकारी दिए । उनले सम्बन्धित वडाका उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई आफ्नो जीपीएसहित आयोजकसँग सम्पर्क गर्न अनुरोधसमेत गरेका छन् ।

Loading...