जानकी माविमा भर्ना अभियान: ‘अन्त मन नडुलाई’ गीतमार्फत विद्यार्थीलाई आकर्षण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१०, ओलानीस्थित जानकी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना अभियानलाई लक्षित गर्दै ‘अन्त मन नडुलाई, जानकी माविलाई रोजौँ’ भन्ने बोलको गीत सार्वजनिक गरेको छ । विद्यालयले अतिरिक्त क्रियाकलापमा सक्रियता, दक्ष शिक्षक-शिक्षिका, शान्त शैक्षिक वातावरण तथा खेलमैदानजस्ता सुविधामार्फत विद्यार्थीलाई आकर्षित गर्ने लक्ष्य राखेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर पार्कीले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र घर दुवैको महत्वपूर्ण भूमिका हुने बताउँदै सम्पूर्ण अभिभावकहरुलाई आफ्ना नानीहरूलाई नियमित र समयमै विद्यालय पठाउने बानी बसाल्नु अनुरोध गरे । उनले जानकी माविमा गुणस्तरीय शिक्षा मात्रै नभई विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरी बालबालिकालाई शिक्षाका हरेक गतिविधिहरुमा‌ समावेश गर्दै आएको समेत बताए ।

वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु)ले जानकी मावि आफ्नो वडाको नमुना विद्यालय रहेको बताउँदै विद्यालयले उत्कृष्ट नतिजासहित विभिन्न सह-शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे । उनका अनुसार विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक तथा बाहिरी ज्ञान पनि आवश्यक पर्ने भएकाले वडाभित्रका विद्यालयहरूमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

वडाध्यक्ष शाहीले शैक्षिक गुणस्तर कायम राख्न वडा कार्यालयले निरन्तर सहयोग गर्दै आएको बताउँदै विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिए । उनले शिक्षकहरूलाई आफ्नो पेशाप्रति जिम्मेवार हुन आग्रह गर्दै अभिभावकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना गर्न आह्वान गरे ।

उक्त वडामा जानकी माध्यमिक विद्यालयसहित घण्टेश्वर आधारभूत विद्यालय, घण्टेश्वर मन्दिर आधारभूत विद्यालय र गणेश आधारभूत विद्यालय गरी चार वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्।

Loading...