अत्तरिया चोकमा झण्डै डेढ करोडको लागतमा आकाशे पुल निर्माण हुदै

गोदावरीका नगरप्रमुख भट्टद्वारा शिलान्यास

अत्तरिया : कैलालीको अत्तरिया चोकमा पैदलयात्रीका लागि आकाशे पुल निर्माण हुने भएको छ । उक्त पुलको आज गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले शिलान्यास गरेका छन् ।

अत्तरिया चौराह-धनगढी ६ लेन सडक खण्डमा निर्माण हुने पुलको शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भईरहेको बताउदै बढ्दो ट्राफिक जाम तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त पुल निर्माण गर्न लागिएको बताए । उनले अत्तरिया बजारको तीव्र शहरीकरणसँगै पैदल यात्रुको चाप बढेकाले सुरक्षित आवतजावतका लागि पुल आवश्यक भएको उल्लेख गरे ।

१ करोड ४२ लाख ८५ हजार ४ सय ९८ रुपैयाँको लागतमा निर्माण हुन लागेको पुलको ठेक्का क्रेजल त्रिनेत्र सिद्धनाथ जेभीले पाएको छ । निर्माण कम्पनीले काम सुरु गरिसकेको जनाएको छ । ईन्जिनियर मोहित चन्दका अनुसार पुल ५ दशमलव ६ मिटर अग्लो तथा ४५ मिटर लामो हुनेछ ।

निर्माण कार्य २०८३ पुस ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गोदावरी नगरपालिकासँग २०८२ फागुन १० गते नै निर्माण सम्झौता भए पनि सडक विभागबाट ढिलो अनुमति प्राप्त हुँदा काम सुरु हुन केही समय लागेको जनाइएको छ । विभागले गत वैशाख १४ गते निर्माण अनुमति दिएपछि काम अघि बढाइएको हो । आकाशे पुल निर्माणपछि अत्तरिया बजार क्षेत्रमा हुने सवारी चाप व्यवस्थापन,पैदल यात्रुको सुरक्षामा सुधार आउने र सहरी सौन्दर्यता हुने अपेक्षा गरिएको छ ।

तर अव्यवस्थीत अत्तरिया बजार व्यवस्थीत गर्न छोडेर आकाशे पुल निर्माण तिर नगरपालिकाको ध्यान गएको भन्दै स्थानियहरुले बिभिन्न टिकाटिप्पणी गर्न थालेका छन् । लामो समयदेखी अत्तरिया बजार अव्यवस्थीत रहेको छ भने अत्तरियामा रहेको बसपार्क समेत निर्माण हुन सकेको छैन् । अत्तरियामा रहेको अत्तरिया उद्योग बाणिज्य संघ पनि निष्कृय जस्तै बनेको छ ।

Loading...