अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले १ अर्ब ३० करोड ५ लाख ८२ हजार बराबरको बजेट पेस गरेको छ।
नगरपालिकाको १७ औँ नगर सभाको बन्द सत्रको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट पेस गरिएको हो। बुधबार नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा बसेको नगरसभाको बन्द सत्रमा सहभागी प्रमुख प्रशासकीय अधिकृत, नगर सभाका सदस्य, नगरपालिकाका कर्मचारी, जनप्रतीनिधी लगायत नगर प्रहरी समक्ष उपप्रमुख शारदा देवी रोकायाले बजेट प्रस्तुत गरेकी हुन।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण २० करोड १० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँट २६ करोड २१ लाख, समपूरक अनुदान–संघीय सरकार १ करोड ८३ लाख, विशेष अनुदान–संघीय सरकार १ करोड ५ लाख, सशर्त अनुदान–संघीय सरकार ४३ करोड ८९ लाख, वित्तीय समानीकरण–प्रदेश सरकार १ करोड ९१ लाख २२ हजार, राजस्व बाँडफाँड–प्रदेश सरकार ५९ लाख ९६ हजार, समपूरक अनुदान–प्रदेश सरकार ३० लाख ९२ हजार,सशर्त अनुदान प्रदेश सरकार १२ करोड ११ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै आन्तरिक आय १६ करोड ४१ लाख ५६ हजार २ सय र बैङ्क मौज्दात ५ करोड ६३ लाख १५ हजार ८ सय गरी जम्मा १ अर्ब ३० करोड ५ लाख ८२ हजार आय प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाले छुट्याएको कुल बजेट मध्ये पूर्वाधार विकासतर्फ ४२ करोड ३९ लाख ७७ हजार, आर्थिक विकास तर्फ २ करोड ३६ लाख, सामाजिक विकास तर्फ १४ करोड २० लाख ५ हजार, वन वातावरण तथा विपद् व्यवस्थापन ६५ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ६८ लाख, कार्य सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ६९ करोड ७७ लाख हुने अनुमान गरिएको छ ।