स्व. रुद्र सिंह धामीको स्मृतिमा जनज्योति प्राविमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

परशुराम : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ३ सिमल्टामा अवस्थित जनज्योति प्राथमिक विद्यालय, सिमल्टामा प्रधानाध्यापक हिक्मत सिंह धामीका पिता स्वर्गीय रुद्र सिंह धामीको सम्झनामा स्थापित स्व. रुद्र सिंह धामी स्मृति अक्षयकोष तथा होली अक्षयकोष र सहयोगी दाताहरूको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रमअन्तर्गत विद्यालयका उत्कृष्ट, जेहेन्दार, आर्थिक रूपमा विपन्न, अपाङ्गता भएका, नियमित रूपमा विद्यालय आउने तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूसहित सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, झोला, औजार बक्स लगायतका शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ।

यस पुण्य कार्यमा मदन धामी (कुशल), गणेश सिंह ऐर र ललित भाटले महत्वपूर्ण आर्थिक सहयोग गरेका थिए। विद्यालय परिवारले सहयोगी दाता, अभिभावक, स्थानीयवासी, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गरेको छ।

कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ऐरले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी डडेल्धुरा जिल्ला उपसभापति मदन धामी (कुशल) सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी भागेश्वर गाउँपालिका सभापति करन ठकुराठी, सशस्त्र प्रहरी बल (एपीएफ) शीर्षका कार्यालय प्रमुख धनबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टी वडा कमिटी सचिव मिन सिंह ऐर, परशुराम नगरपालिका–३ का वडा सदस्य केशव सिंह भण्डारी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयले स्वर्गीय रुद्र सिंह धामीको स्मृतिमा स्थापित अक्षयकोषले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक उन्नयनमा निरन्तर सहयोग पुर्‍याउँदै धेरै बालबालिकाको भविष्य उज्यालो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।

Deep Jyoti Pustak psl
Loading...