अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमेश भट्टराईले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।
आज (बिहिबार) अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत भट्टराईले आफ्नो नेतृत्वमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने टोली घोषणा गरेका हुन् ।
भट्टराई नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा लोकराज ओझा (एल.आर.), वस्तुगत उपाध्यक्षमा वीरेन्द्र विष्ट, वाणिज्य उपाध्यक्षमा समीर गिरी, महासचिवमा गोकुल भट्ट, सचिवमा राजन सिजापति र कोषाध्यक्षमा दीपेन्द्र अवस्थी उम्मेदवार रहेका छन् ।
यस्तै सदस्य पदका लागि यादव भट्ट, लक्ष्मीराज ओझा, रमा कट्टेल र छत्र विक उम्मेदवार बनेका छन् ।
यसअघि अध्यक्षका अर्का उम्मेदवार कमल कडायतले पनि आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अत्तरिया उद्योग वाणिज्य संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध छन् । संघको साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि असार २७ र २८ गते कार्यक्रम तय गरिएको छ । निर्वाचनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको समयसीमा तोकिएको थियो ।
