कञ्चनपुरको पुनर्वासका विद्यार्थीमा बेहोस हुने समस्या, पठनपाठन प्रभावित

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि पठनपाठन प्रभावित बनेको छ।

नगरपालिकाको वडा नम्बर ८ स्थित बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरू एक्कासि ढल्ने, चिच्याउने, कराउने र हाँस्नेजस्ता असामान्य लक्षण देखिन थालेपछि विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको हो।

विगत ३–४ दिनदेखि कक्षा ५ देखि ९ सम्म अध्ययनरत ३२ जना छात्राहरूमा एक्कासि यस्तो समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक दिल्लीप्रसाद शर्माले जानकारी दिए। बिहान विद्यालय परिसर पुगेपछि कसैमा दुई पटक त कसैमा एक पटक यो समस्या दोहोरिने गरेको उनको भनाइ छ। विगतका वर्षहरूमा दुई–तीन जना विद्यार्थीमा सीमित हुने यो समस्या यस पटक धेरै सङ्ख्यामा देखिएको हो।

विद्यार्थीहरूमा देखिएको यो स्वास्थ्य समस्याबारे चिकित्सकहरूसँग परामर्श गरिएको पुनर्वास नगरपालिकाले जनाएको छ। नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टका अनुसार विद्यार्थीहरूमा ‘मास कन्भर्सन डिसअर्डर’ नामक मनोसामाजिक समस्या देखा परेकाले उनीहरूको उपचारको उचित व्यवस्थापन काठमाडौँस्थित कान्ति बाल अस्पतालका चिकित्सकहरूसँग परामर्श गरी प्रभावित विद्यार्थीहरूलाई घरमै पुगेर औषधि उपलब्ध गराइने उनले बताए।

यसअघिका वर्षहरूमा वडा नम्बर ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बिचफाँटाका विद्यार्थीहरूमा पनि यस्तै समस्या देखिने गरेको थियो। विद्यार्थीहरूमा अनौठो समस्या बढेपछि बागेश्वरी माध्यमिक विद्यालयले बिहीबार र शुक्रबार दुई दिन कक्षा ५ देखि ८ सम्मका कक्षा स्थगित गरी बिदा दिएको छ।

Deep Jyoti Pustak psl
Loading...