दुर्गा लक्ष्मी माविमा विद्यार्थीका लागि ई-हाजिरी

विद्यार्थी प्रवेश गर्नेबित्तिकै अभिभावकलाई सन्देश पुग्ने

अत्तरिया : कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा विद्यार्थीका लागि स्मार्ट ई-हाजिरी प्रणाली जडान गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई क्युआर कोड रहेको आइडी कार्ड उपलब्ध गराएर विद्यार्थी विद्यालयमा प्रवेश गर्ने बित्तिकै अभिभावकलाई समेत सन्देश जाने प्रविधि सहितको स्मार्ट ई-हाजिरी प्रणाली जडान गरिएको हो ।

विद्यार्थीले उक्त कार्ड ई-हाजिरी मेसिनमा देखाउने बित्तिकै गेटमै हाजिरी लाग्ने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक वीरसिंह महताले बताएका छन् । उनले स्मार्ट ई-हाजिरी प्रणाली केही विद्यार्थी घरबाट विद्यालयका लागि हिँडे पनि बाटोमै हराउने समस्या देखिएकोले त्यसको समाधानका लागि निकै प्रभावकारी हुने देखिएको बताए ।

विद्यार्थी विद्यालयबाट घर जाने बेलामा पनि अभिभावकको मोबाइलमा सन्देश जाने व्यवस्था गरिएको छ । यो प्रविधिको प्रयोगसँगै कक्षाकोठामा दैनिक रजिष्टरमा हाजिरी लगाउनुपर्ने झन्झट हट्नुका साथै समयको समेत बचत हुने अपेक्षा गरिएको छ । कक्षा शिक्षकले कति विद्यार्थीले ई-हाजिरी लगाएर गेटबाट प्रवेश गरे भन्ने विवरण समेत मोबाइलबाटै हेर्न सक्ने व्यवस्था रहेको विद्यालयका प्रधानाध्यापक महताले जानकारी दिएका छन् ।

यसका साथै अभिभावकले विद्यार्थीले होमवर्क तथा प्रोजेक्ट वर्क गरेनगरेको समेत जानकारी पाउन सक्ने व्यवस्था गरिएको छ । समग्र शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत नै विद्यालयले आफ्नै व्यवस्थापनमा ई-हाजिरी प्रणाली जडान गरिएको विद्यालयका प्रधानाध्यापक महताले बताए ।

विद्यार्थीको निकै चाप रहेको यस विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म करिब २६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका अनुसार ती सबै विद्यार्थीका लागि ई-हाजिरी कार्ड निर्माण गरिएको हो ।

Deep Jyoti Pustak psl
Loading...