सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिदै

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

३१ असारमा एमालेले समर्थन फिर्ता लिएसँगै स्पष्ट अल्पमतमा परेका शाहले विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइदिन सचिवालयलाई पत्र लेखेका थिए। सोही आधारमा सभामुख भीमबहादुर भण्डारीले बिहीबार साँझ ५ बजे प्रदेश सभाको बैठक बोलाएका छन ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीकाअनुसार मुख्यमन्त्रीको विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइएको छ। स्रोतकाअनुसार शाहले प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना नभएकाले सम्बोधन गरेर राजीनामा घोषणा गर्नेछन्। त्यसपछि प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुुझाउने तयारी छ ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन्। सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८ सांसदको समर्थन छ । कांग्रेसका सांसद प्रकाश देउवा भने हाल अमेरिकामा छन्। सरकार जोगाउन कांग्रेसको समर्थनबाहेक थप १० सांसदको समर्थन आवश्यक पर्ने भएकाले आवश्यक संख्या सुनिश्चित नभएपछि शाह राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।

शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नेपाली कमुनिष्ट पार्टी र एमालेले प्रदेश सरकार बनाउनेछन्। सुदूरपश्चिममा नेकपाका खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी रहेको छ ।

Deep Jyoti Pustak psl
Loading...