व्यस्त अत्तरिया चोकमा फोटो खिच्नेको भिड, दुर्घटनाको जोखिम बढ्दो

अत्तरिया : कैलालीको अत्तरिया चोकमा सडककै बीचमा फोटो तथा भिडियो खिच्ने र खिचाउनेको भिड बढ्दै गएको छ । विशेषगरी बिहान र साँझको समयमा चोकमा फोटो खिच्नेको अत्यधिक भिड हुने गरेको स्थानीयको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा रहेको अत्तरिया बजारको मुख्य सडक अत्यन्त व्यस्त हुने गरेको छ । तर, यही व्यस्त सडकमा क्यामेराम्यान सहित फोटो तथा भिडियो खिच्नेहरूको भिड लाग्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।

पर्यटकीय तथा धार्मिक स्थलमा फोटो तथा भिडियो खिच्नेभन्दा बजारको मुख्य चोकमै सडक अवरुद्ध हुने गरी फोटो खिच्ने प्रवृत्तिप्रति स्थानीयले प्रश्न उठाएका छन् । सडकको बीच भागमा भिडभाड गरेर फोटो तथा भिडियो बनाउँदा पैदलयात्री र सवारी चालक दुवैलाई समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

अत्तरिया चोक नजिकै ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रहेका छन् । साथै, हालै निर्वाचित अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व समेत रहेको छ । तर, चोकमा बढ्दो अव्यवस्थाका विषयमा सम्बन्धित निकायले प्रभावकारी चासो नदेखाएको स्थानीयको गुनासो छ ।

गोदावरी नगरपालिकाका नगर प्रहरी बजार क्षेत्रमा नियमित रूपमा घुम्ने गरे पनि बजार व्यवस्थापनमा भने पर्याप्त ध्यान नदिएको स्थानीय व्यापारीहरूको आरोप छ । उनीहरूका अनुसार अत्तरिया बजारमा जथाभावी सवारी पार्किङ, अव्यवस्थित रूपमा ठेलामा तथा फुटपाथमा व्यापार व्यवसाय सञ्चालन लगायतका समस्या लामो समयदेखि यथावत छन् ।

प्रदेशकै प्रमुख प्रवेशद्वारका रूपमा रहेको अत्तरिया बजारलाई व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक प्रहरी, नेपाल प्रहरी, गोदावरी नगरपालिका, उद्योग वाणिज्य संघलगायत सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ । व्यस्त सडकमा हुने अनावश्यक भिड नियन्त्रण गरी बजार व्यवस्थापनमा ध्यान दिन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

Deep Jyoti Pustak psl
Loading...