सेतीमा सर्पदंशका बिरामी बढे, १४० उपचारमा, ६ जनाको मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०८२/८३ देखि चालु आर्थिक वर्ष २०८३/८४ को साउनसम्म १४० जना सर्पदंशका बिरामीले उपचार सेवा लिएका छन्। उपचारका क्रममा ६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै १०९ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुगेका थिए। तीमध्ये चार जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए।

चालु आर्थिक वर्षको साउनमा ३० जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन्। तीमध्ये एक जनाको उपचारका क्रममा र अर्का एक जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको श्रेष्ठले बताए।

उनका अनुसार सर्पले टोकेपछि समयमै अस्पताल पुग्नुको सट्टा झारफुक तथा घरेलु उपचारमा लाग्दा उपचारमा ढिलाइ हुने र जोखिम बढ्ने गरेको छ।

सेती अस्पतालमा हाल सर्पदंशका बिरामीका लागि आवश्यक औषधि पर्याप्त रहेको अस्पतालले जनाएको छ। करिब ३५ जना बिरामीलाई पुग्ने औषधि मौज्दात रहेको श्रेष्ठले बताए।

अस्पतालले सर्पले टोकेमा झारफुकमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पताल पुर्‍याउन आग्रह गरेको छ।

Deep Jyoti Pustak psl
Loading...