अत्तरियामा बस दुर्घटनामा मृत्यु भएकी सिन्की बोहराको परिवार र यातायात पक्ष बिच सहमती, भोलिको बन्द फिर्ता

अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा बसले किच्दा घटना स्थलमै मृत्यु भएकी सिन्की बोहराको परिवार र महाकाली यातायात पक्ष बीच मंगलबार सहमति भएको छ । दुई दिनपछि आज बेलुका पीडित पक्षले कानुनबमोजिम १० लाख सहित क्षतिपूर्ति पाउने तथा दुर्घटनामा संलग्न चालकलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो ।

इलाका प्रहरी कार्यालय (ईप्रका) मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराका अनुसार पीडित परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।

छलफलमा सहभागी बझाङी सेवा समाजका अध्यक्ष झलक ऐडीले पिडित पक्षले कानुन बमोजिम क्षतिपुर्ति पाउने तथा चालकलाई कानुन बमोजिम कारबाही गर्ने सहमति भएको बताए ।

मंगलबार दिउँसोभर भएको वार्तामा सहमति जुट्न नसकेपछि पिडित पक्षले बुधबारदेखि आन्दोलन तथा चक्काजाम गर्ने घोषणा गरेका थिए । तर साँझ सहमति भएपछि घोषित आन्दोलनका कार्यक्रम स्थगित गरिएको मृतकका भतिजा शिवराज बोहराले बताए । बझाङको मष्टा गाउँपालिका-६ का वडाध्यक्ष समेत रहेका उनले अब आफूहरुले शव बुझ्ने बताएका छन् । शव आईतबारदेखि सेति प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

आइतबार बेलुकी महेन्द्रनगरबाट दार्चुलातार्फ जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२-००१ख९५६ नम्बरको बसले पानी बेचिरहेकी ५३ बर्षिया बोहरालाई किच्दा घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटनापछि अत्तरिया तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीय र मृतकका आफन्तले आइतबारदेखि नै न्याय तथा उचित क्षतिपूर्तिको माग गर्दै विरोध जनाएका थिए । घटनासम्बन्धी थप कानुनी प्रक्रिया अघि बढ्ने बताईएको छ ।

बस र बस चालक दार्चुलाको मालिकार्जुन-२ बस्ने २४ वर्षीय रोहितसिंह धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिइसकेको छ ।

Deep Jyoti Pustak psl
Loading...