अत्तरिया : कैलालीको अत्तरियामा संस्थागत नीति तथा अनुपालना सम्बन्धी एकदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको असुली तथा अनुगमन विभागअन्तर्गत अनुगमन कार्यालय अत्तरियाको आयोजनामा भएको तालिममा अत्तरिया क्षेत्रका १० वटा शाखाका ३९ जना शाखा प्रमुख तथा फिल्ड कर्मचारीको सहभागिता रहेको थियो ।
बिहान ७ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन भएको तालिममा संस्थाको नीति तथा कार्यक्षेत्र, कर्जा तथा बचत, असुली प्रक्रिया, ग्राहक संरक्षण, सामाजिक उत्तरदायित्व, नेपाल राष्ट्र बैंकका निर्देशन, निष्क्रिय समूहलाई सक्रिय बनाउने रणनीति, सङ्कलन प्रणाली तथा कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा छलफल गरिएको थियो ।

तालिममा सहभागीलाई समूहगत छलफल, प्रस्तुतीकरण तथा व्यावहारिक अभ्याससमेत गराइएको थियो । तालिमको सहजीकरण सहायक कार्यालय बेलौरीका शाखा प्रमुख विष्णु प्रसाद जैसीले गरेका थिए भने संयोजन तथा प्रशिक्षण अनुगमन अधिकृत माधव सापकोटाले गरेका थिए ।
आयोजकका अनुसार तालिमले कर्मचारीको संस्थागत नीति तथा अनुपालना, कर्जा-असुली प्रक्रिया र दैनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ ।
