बाजुरामा सेवाग्राहीलाई सहज सेवा दिन प्रहरी कार्यालयमा ‘भिजिटर पास’ व्यवस्था

बाजुरा : बाजुराको जिल्ला प्रहरी कार्यालयले सेवाग्राहीलाई प्रहरी सेवा सहज, छिटोछरितो र व्यवस्थित रूपमा उपलब्ध गराउने उद्देश्यले ‘भिजिटर पास’को व्यवस्था गरेको छ। कार्यालयमा आउने सेवाग्राहीको पहिचान तथा प्रवेशलाई व्यवस्थित बनाउन पास प्रणाली लागू गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले सेवाग्राहीलाई पास प्रदान गर्दै उक्त सेवाको सुरुआत गरेकी हुन् । उनका अनुसार कार्यालय प्रवेश गर्ने सेवाग्राहीले आफ्नो आवश्यक विवरण खुलाएपछि काम र जाने शाखाका आधारमा पास उपलब्ध गराइनेछ ।

नागरिक सहायता कक्षबाट सेवाग्राहीको काम र सम्बन्धित शाखाबारे जानकारी लिएर पास दिने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताइन् । सेवा लिएर कार्यालयबाट फर्किँदा उक्त पास नागरिक सहायता कक्षमै बुझाउनुपर्नेछ ।

भिजिटर पास प्रणालीले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको पहिचान गर्न सहज हुनुका साथै कार्यालय परिसरमा हुने अनावश्यक भीडभाड र अव्यवस्थित आवागमन नियन्त्रण गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी तथा निवेदन, मुद्दासम्बन्धी काम, प्रशासनिक सेवा, विभिन्न सिफारिसलगायतका कामका लागि दैनिक रूपमा सेवाग्राही आउने गरेका छन् । नागरिकलाई प्रहरी सेवा थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन कार्यालयले विभिन्न सुधारका प्रयास गर्दै आएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...