धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले असोजको दोस्रो साता भित्रै बजेट ल्याउने तयारी भईरहेको बताएका छन् । उनले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याउन अब धेरै समय नलाग्ने बताए ।
मुख्यमन्त्री भट्टका अनुसार बजेट निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ । यसअघि उनले भदौ मसान्तभित्रै बजेट ल्याउने बताएका थिए । विभिन्न राजनीतिक तथा प्रशासनिक विषय मिलाउन समय लागेपछि निर्धारित समयभित्र बजेट ल्याउन नसकिएको उनको भनाइ छ ।
आर्थिक मामिला मन्त्रालयले बजेट तर्जुमासम्बन्धी मार्गदर्शन सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको छ । प्रदेश सरकारले असोज ७ गतेदेखि प्रदेशसभा सदस्यहरूबाट योजना सिफारिस लिने तयारी गरेको मुख्यमन्त्री भट्टले जानकारी दिए । ‘अबको तीन-चार दिनमा धेरैजसो काम पूरा हुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि बजेट पारित हुन सकेको छैन । बजेटसम्बन्धी प्रक्रिया लामो समयदेखि रोकिँदा प्रदेश सरकारको नियमित कार्यक्रम तथा विकास निर्माणका काम प्रभावित हुने अवस्था छ ।
