असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ  :  नेपालमा आगामी साता भारी वर्षाको सम्भावना देखिएको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

महाशाखाका अनुसार उत्तर अन्डमन सागर तथा आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र विकसित भएको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको जनाइएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले पनि विभिन्न मौसम पूर्वानुमान मोडलहरूको अध्ययन गर्दा आगामी दिनमा उल्लेख्य वर्षाको सम्भावना देखिएको बताएका छन्।

उनका अनुसार केही पूर्वानुमान मोडलले ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने देखाएका छन्। केही मोडलमा ७४१ मिलिमिटरसम्म वर्षाको सम्भावना देखिएको उल्लेख गर्दै उनले यस्तो वर्षाले नेपालका विभिन्न क्षेत्रमा गम्भीर अवस्था निम्त्याउन सक्ने चेतावनी दिएका छन्। मौसमविद्हरूका अनुसार असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित हुने प्रणालीको प्रभाव नेपालमा बढ्न सक्नेछ। सो प्रणालीको पश्चिमी वायुमण्डलीय प्रणालीसँग अन्तरक्रिया हुने सम्भावना पनि रहेको छ।

यी मौसमी प्रणालीका कारण नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिएमा देशका विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने आकलन गरिएको छ। विशेषगरी दुई प्रणालीबीचको अन्तरक्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...